दफा ३१
निरीक्षण अधिकृत
(१) मन्त्रालयले मान्यताप्राप्त विश्वविद्यालयबाट खाद्य पोषण विज्ञान, खाद्य प्रविधि, कृषि विज्ञान, पशु विज्ञान वा पशु चिकित्सा, जनस्वास्थ्य, मत्स्य विज्ञान वा वन तथा बातावरण विज्ञान, कानून, मानव अधिकार, लैङ्गिक तथा अपाङ्गता सम्बन्धी विषयमध्ये कुनै विषयमा स्नातक उपाधि हासिल गरेको सङ्घीय निजामती सेवाको अधिकृतस्तरको कुनै कर्मचारीलाई निरीक्षण अधिकृतको रुपमा काम गर्ने गरी तोक्ने वा नियुक्त गर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयले उपनियम (१) बमोजिमको योग्यता भएको प्रदेश वा स्थानीय तहमा कार्यरत प्रदेश निजामती सेवा वा स्थानीय सेवाको अधिकृतस्तरको कर्मचारीलाई समेत सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहको सिफारिसमा निरीक्षण अधिकृत तोक्न सक्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम निरीक्षण अधिकृत तोक्दा वा नियुक्त गर्दा प्रत्येक जिल्लाको लागि कम्तीमा एक एक जना हुने गरी तोक्नु वा नियुक्ति गर्नु पर्नेछ।
(४) उपनियम (१): बमोजिम निरीक्षण अधिकृत तोकेको विषयको जानकारी मन्त्रालयले सम्बन्धित प्रदेश र स्थानीय तहलाई दिनु पर्नेछ।
(५) उपनियम: (१) वा (२) बमोजिमको निरीक्षण अधिकृतलाई मन्त्रालयले- आवश्यक तालिमको व्यवस्था गर्नु पर्नेछ।